काठमाडौं, साउन २३ गते ।
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी स्वामित्वका वर्षौंदेखि बन्द तथा घाटामा रहेका उद्योग र संस्थानमा सुधारका संकेत देखिन थालेको बताएका छन्। प्रधानमन्त्री शाहले आफ्नो फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै राष्ट्रिय उद्योगलाई पुनर्जीवन दिने प्रयासबाट केही संस्थानमा आशालाग्दा परिणाम देखिएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री शाहका अनुसार सरकार गठन भएदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ। इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको समन्वयबाट सुधारका नयाँ ढोका खुल्न थालेको उनको भनाइ छ ।

शाहले दिएको विवरणअनुसार लामो समयदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। जीएमपी मापदण्ड प्राप्त गरेपछि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनले उल्लेख गरेका छन्। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन सुरु भएको प्रधानमन्त्री शाहले बताएका छन्। उद्योगको तान (लुम) मर्मतपछि केही परिमाणमा कपडा उत्पादन सुरु भएको र परीक्षणपछि सरकारले नै उद्योग सञ्चालन गर्ने तयारी गरेको उनको भनाइ छ ।

नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको शाहले बताएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो। सो अवधिमा निगमको सीट उपयोगिता ८६ प्रतिशत पुगेको र जहाज खरिदका लागि लिइएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत भुक्तानी गरिएको उनले उल्लेख गरेका छन् ।

दुग्ध विकास संस्थान (डीडीसी)मा किसानको बक्यौता भुक्तानी चक्रसमेत छोट्याइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। आठ महिनासम्म पुग्ने गरेको भुक्तानी चक्रलाई दुईदेखि तीन महिनामा झारिएको, किसानलाई प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको र दैनिक बिक्री ३५ प्रतिशतले बढेको उनले बताएका छन् ।

त्यस्तै, सिंहदरबार वैद्यखाना विकास समितिको औषधि कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणाले बढेको शाहले दाबी गरेका छन्। गत आर्थिक वर्षमा करिब १३ करोड रुपैयाँको औषधि कारोबार भएको तथा हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहे रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगलाई समेत पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गरेका छन्। उत्पादन वृद्धि गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा सबैको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार