दमौली, साउन २५ गते ।
सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउनुपर्ने माग राख्दै अनशनमा बसेका माधवप्रसाद अधिकारीले ग्यास आपूर्ति सहज नभएसम्म निरन्तर अनशन बस्ने बताएका छन् ।
अधिकारी सोमबार बिहानदेखि दमौलीस्थित अनशनचोकमा टेन्ट टाँगेर अनशनमा बसेका हुन्। उनको अनशनप्रति विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिले ऐक्यबद्धता जनाएका छन्। स्थानीय सर्वसाधारणले समेत अनशनमा बसेका अधिकारीको मागप्रति समर्थन जनाएका छन् ।
अधिकारीले बजारमा ग्यासको सहज आपूर्ति हुनुपर्ने र सर्वसाधारणले लामो समयसम्म ग्यासको अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने माग राखेका छन् ।
तर, अनशनमा बसेको लामो समय बितिसक्दा पनि अधिकारीका मागप्रति स्थानीय प्रशासनको ध्यान पुग्न नसकेको गुनासो गरिएको छ। अनशनकारी अधिकारीको अवस्था बुझ्न अहिलेसम्म प्रशासनको टोली अनशनस्थलमा नआएको बताइएको छ ।
ग्यास आपूर्ति सहज नभएसम्म आफू अनशनबाट नउठ्ने अधिकारीले बताएका छन् ।

