बर्दिवास, साउन २५ गते ।
मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवले महोत्तरीका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनसँगै पूजा–अर्चना गर्नुभएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमको नेतृत्वमा भएको धार्मिक तथा पर्यटकीय स्थल अवलोकनका क्रममा सभामुख यादवले बर्दीबास नगरपालिका–५ स्थित प्रसिद्ध श्री टुटेश्वरनाथ मन्दिर र वडा नं. ४ स्थित श्री पञ्चधुरामाई मन्दिरमा पुगेर दर्शन तथा विधिपूर्वक पूजा–अर्चना गर्नुभएको हो ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीको विशेष निमन्त्रणामा परिवारसहित बर्दीबास पुग्नुभएका सभामुख यादवले पूजापश्चात् मन्दिर परिसरको अवलोकन गर्दै धार्मिक तथा पुरातात्त्विक महत्त्व झल्किने गरी संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्वदेशी सीप, श्रम तथा स्थानीय कच्चा पदार्थको अधिकतम प्रयोग गर्दै कङ्क्रिटरहित र मौलिक शैलीका संरचना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले प्रकृतिको काखमा रहेको तथा सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र टुटेश्वरनाथ मन्दिरलाई पर्यटन विकाससँग जोड्न तीनै तहका सरकारलाई आग्रह गर्नुभयो।
उहाँले महाभारतकालीन इतिहास बोकेको तथा ‘मधेसको कैलाश पर्वत’का रूपमा परिचित टुटेश्वरनाथ क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउन सके मधेस प्रदेशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

“नेपालको बाबाधामका रूपमा समेत परिचित बाबा टुटेश्वरनाथको दर्शन गर्न स्वदेश तथा विदेशबाट आउन इच्छुक सम्पूर्ण भक्तजनलाई हार्दिक निमन्त्रणा गर्दछु,” अध्यक्ष गौतमले भन्नुभयो ।

त्यस्तै, प्रगतिशील लेखक सङ्घ, नेपाल मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरेले पर्यटन उद्योगलाई मुलुकको आर्थिक मेरुदण्डका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले समाजमा विद्यमान धार्मिक तथा सामाजिक आस्थालाई समाज रूपान्तरणसँग जोड्दै पर्यटन क्षेत्रलाई व्यवस्थित, मर्यादित र पर्यटकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

पर्यटकलाई आकर्षित गर्ने पूर्वाधारसँगै पर्यटकमैत्री सहर निर्माण र त्यसअनुकूलका नीति, नियम तथा कानुन निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका सचिव पर्मेश्वर महतोले नागरिक समाज, मन्दिर व्यवस्थापन समिति र सरकारबीच सहकार्य हुन सके पर्यटन विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

“पर्यटन कुराले भन्दा कामले अगाडि बढ्छ। त्यसका लागि हामी आफ्नो जिम्मेवारी पूरा गर्न लाग्छौँ। यहाँहरू पनि आफ्नो जिम्मेवारीमा लागौँ,” महतोले भन्नुभयो ।

अवलोकन तथा पूजा–अर्चना टोलीमा महासङ्घ मधेस प्रदेशका कोषाध्यक्ष दानबहादुर थापा (विष्णु), नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजकरण महतो, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका प्रथम उपाध्यक्ष अमित बस्नेत, सदस्य हेम लामा, ठोस खबर अनलाइनका सञ्चालक रोशन महतोलगायत स्थानीय सञ्चारकर्मी तथा विभिन्न मिडिया र फोटोग्राफी सेन्टरका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा हिरालाल गौतम, गोपाल कार्की, अमित बस्नेत, विनोद थापा, पर्मेश्वर महतो, जीवनराज दाहाल, राजेन्द्र बिमल, राजकरण महतो, बिमल भण्डारी, पवित्रा घिमिरे, आरती घिमिरे, कमल घिमिरे, कल्याण अपागाईं र भवानी घिमिरेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार