राजेश सिंह
गौशाला, साउन २५ गते ।
देशका विभिन्न ठाउँमा एलपी ग्यासको अभाव देखिएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा भने तत्काल ग्यासको समस्या नरहेको पाइएको छ ।
ग्यासको आपूर्ति र मौज्दातको अवस्था बुझ्न इलाका प्रहरी कार्यालय गौशालाले सोमबार बजार अनुगमन गरेको थियो। प्रहरी टोलीले गौशालाका दुई ग्यास बिक्रेता श्री जल्पा ग्यास लाइट हाउस र एन्जल ग्यास पसलमा पुगेर मौज्दात तथा बिक्री वितरणको अवस्थाबारे जानकारी लिएको हो ।
अनुगमनका क्रममा दुबै व्यवसायीले बजारमा पर्याप्त ग्यास रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार उपभोक्ताले अहिले पनि फुल सिलिन्डर सहज रूपमा खरिद गर्न सक्ने अवस्था छ ।
देशका अन्य क्षेत्रमा ग्यास नपाउने र अभाव हुन थालेको समाचार सार्वजनिक भइरहेका बेला गौशालाको अवस्था बुझ्न अनुगमन गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रहरीले बजारमा ग्यासको कृत्रिम अभाव देखाउने, लुकाएर राख्ने वा कालोबजारी गर्ने जस्ता गतिविधि हुन नदिन निगरानी बढाइएको जनाएको छ। उपभोक्तालाई अनावश्यक समस्या नपरोस् भन्ने उद्देश्यले ग्यासको आपूर्ति तथा बिक्री वितरण माथि नियमित निगरानी गरिने प्रहरीको भनाइ छ ।
हाल गौशालामा ग्यासको सहज उपलब्धता रहेको व्यवसायीको दाबी भए पनि बाहिरी बजारमा देखिएको अभावका कारण आगामी दिनमा आपूर्तिमा असर पर्न सक्ने भएकाले सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ ।

