राैतहट, साउन २७ गते ।
रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार बुधबार बिहान करिब साढे ६ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर टाढा जिङडिया पुलनजिक दुई बालबालिकाको शव फेला परेको हो ।
मृत्यु हुनेमा देवाही गोनाही–२ लक्ष्मिनियाका शेख कमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुन रहेका छन् ।
सोही घटनामा शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन भने अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो करिब २ बजे तीनै बालबालिका लाल बकैया नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा ९ जना प्रहरी घटनास्थल पुगेका थिए ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट असई भक्तबहादुर शाहीको नेतृत्वमा ७ जनाको टोली खोजी तथा उद्धारमा परिचालन भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता रौशन खातुनको खोजीलाई तीव्रता दिएको छ ।

