काठमाडौं, साउन २७ गते ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार बोर्डको सचिवालयका नवनियुक्त कार्यकारी निर्देशक निर्मल कुमार उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
शपथ ग्रहण गर्दै नवनियुक्त कार्यकारी निर्देशक उप्रेतीले नेपालको संविधान तथा प्रचलित कानुनको पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदपूर्तिका लागि मन्त्रालयले आवेदन आह्वान गरी छनोट प्रक्रिया अघि बढाएको थियो। छनोट प्रक्रियाबाट सिफारिस भएका उप्रेतीलाई साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
उप्रेती मानवअधिकार, आप्रवासन, सुशासन, शान्ति निर्माण तथा न्यायमा पहुँचका क्षेत्रमा झन्डै दुई दशकदेखि सक्रिय रहँदै आउनुभएको छ। उहाँले यसअघि वैदेशिक रोजगार बोर्डअन्तर्गतको आप्रवासी स्रोत केन्द्रका व्यवस्थापक, प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) का उपकार्यक्रम निर्देशक तथा इन्सेकमा मानवअधिकारसम्बन्धी विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
नवनियुक्त कार्यकारी निर्देशक उप्रेतीको अनुभवले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हित, संरक्षण तथा कल्याणका क्षेत्रमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ ।

