जनकपुरधाम, साउन २६ गते ।
मधेश प्रदेशको पुरानो तथा ऐतिहासिक रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा पहिलोपटक कानूनतर्फको स्नातक तहको एलएलबी (LL.B.) कार्यक्रम सञ्चालनमा आएको छ ।

नयाँ सुरु भएको एलएलबी कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई लक्षित गर्दै क्याम्पसले साउन २६ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो। क्याम्पस प्रमुख प्रा. डा. बसन्त कुमार कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश माननीय टेकनारायण कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा न्यायाधीश, वरिष्ठ अधिवक्ता, मुख्य न्यायाधिवक्ता, सरकारी वकिल, क्याम्पसका प्राध्यापक तथा कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा एलएलबी कार्यक्रम संयोजक रिङ्कु कुमारी यादवले पाठ्यक्रम, विषयगत संरचना, अध्ययन तथा परीक्षा प्रणाली र विद्यार्थीले पूरा गर्नुपर्ने शैक्षिक दायित्वबारे जानकारी गराउनुभएको थियो ।

प्रमुख अतिथि कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले कानूनको अध्ययनलाई केवल परीक्षा उत्तीर्ण गर्ने विषयका रूपमा नलिई न्याय, संविधान र कानूनी शासनको गहिरो अध्ययनका रूपमा अघि बढाउन विद्यार्थीलाई आग्रह गर्नुभयो। उहाँले कानून शिक्षाले न्यायपालिकालगायत विभिन्न क्षेत्रमा सक्षम र जिम्मेवार जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता युगलकिशोर लालसहित कानून क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहेको थियो। उनीहरूले विद्यार्थीलाई अध्ययनशील बन्न, कानूनी तर्क तथा अनुसन्धान क्षमताको विकास गर्न र कानून व्यवसायमा आवश्यक व्यावसायिक आचरणलाई प्राथमिकता दिन सुझाव दिएका थिए ।

त्यसैगरी, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता माननीय डा. सुनिल रञ्जन सिंहले रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा कानून शिक्षा सुरु हुनु मधेश प्रदेशका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले एलएलबी कार्यक्रमले प्रदेशमै आवश्यक दक्ष कानूनी जनशक्ति उत्पादन गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उच्च सरकारी वकिलको कार्यालयका प्रमुखले कानून शिक्षाको महत्व, व्यावहारिक ज्ञान तथा विद्यार्थीका लागि उपलब्ध पेशागत अवसरबारे धारणा राख्नुभएको थियो । क्याम्पसका सहायक क्याम्पस प्रमुख, विभिन्न कार्यक्रमका निर्देशक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा विद्यार्थी कल्याण प्रमुख डा. रामसेवक ठाकुरले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण अनुसन्धान तथा व्यवस्थापन इकाईका निर्देशक अनुप अधिकारीले गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका क्याम्पस प्रमुख प्रा. डा. बसन्त कुमार कर्णले क्याम्पस प्रशासन गुणस्तरीय कानून शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले प्रभावकारी रूपमा कार्यक्रम सञ्चालनका लागि आवश्यक शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीलाई नियमित, अनुशासित, अध्ययनशील र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा पहिलोपटक सुरु भएको एलएलबी कार्यक्रमले जनकपुरधामसहित मधेश प्रदेशमा कानून शिक्षाको पहुँच विस्तार गर्नुका साथै दक्ष कानूनी जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार