गाैशाला, साउन २७ गते ।
सर्लाहीमा प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँभन्दा बढी नेपाली नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
भारतबाट सर्लाहीको बयलबास तर्फ स्कुटरमा हुन्डी कारोबारको रकम ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले ब्रह्मपुरी गाउँपालिका–२, राजदेवी मन्दिर अगाडिबाट स्कुटर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार जाँच गर्ने क्रममा स्कुटरमा लुकाइछिपाइ ल्याइएको स्रोत नखुलेको नेपाली नगद रु. ५१ लाख ३४ हजार बरामद भएको छ ।
रकमसँगै ज.१० प ८६५२ नम्बरको स्कुटर र रेडमी कम्पनीको एक थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ का ५७ बर्षीय जगन्नाथ महतो कोइरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले बरामद रकम, स्कुटर तथा मोबाइलसहित पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

