गाैशाला, साउन २९ गते ।
दृष्टिबन्धकमा राखिएको जग्गा पुनः बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ठगी गरेको आरोपमा धनुषामा एकै परिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

कारागार चलान हुनेमा जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीया रेखा साह र छोरा ३२ वर्षीय हरेराम साह रहेका छन् ।

मिटरब्याज तथा ठगीसम्बन्धी विभिन्न उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरूलाई साउन १ गते पक्राउ गरेको थियो। उनीहरूमाथि धनुषा जिल्ला अदालतमा नौवटा मुद्दा विचाराधीन रहेको प्रहरीले जनाएको छ ।

ती मुद्दामध्ये छवटामा थुनछेक बहस सकिएपछि न्यायाधीश हिरामाया अवालको इजलासले तीनै जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेमकुमार महतोले जानकारी दिए। बाँकी तीन मुद्दाको सुनुवाइ भने शुक्रबार पनि जारी रहेको उनले बताए ।

अदालतको आदेशपछि गोपाल साह र उनका छोरा हरेरामलाई महोत्तरी कारागार तथा रेखा साहलाई सिन्धुली कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूमाथि विभिन्न व्यक्तिसँग जोडिएका मिटरब्याज तथा ठगीसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। घटनामा करिब चार करोड रुपैयाँ बराबरको ठगी भएको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार