झापा, साउन २९ गते ।
लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित झापाको कनकाई नगरपालिकाका १३ परिवारले अन्ततः आफ्नो नाममा जग्गाधनी पुर्जा प्राप्त गरेका छन् ।
जिल्ला भूमि समस्या समाधान समिति, झापाले कनकाई नगरपालिका–३ र ६ का भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबास गरिरहेका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।
समितिका अनुसार पुर्जा प्राप्त गर्ने परिवारमध्ये केहीलाई आवास प्रयोजनका लागि र केहीलाई कृषि प्रयोजनका लागि जग्गा उपलब्ध गराइएको छ ।
वर्षौंदेखि जग्गा भए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयले पुर्जा पाएसँगै आफ्नो नाममा जग्गाको कानुनी अधिकार प्राप्त गरेका छन् ।
जग्गाधनी पुर्जा हात परेपछि स्थानीयमा खुसी छाएको छ । उनीहरूले लामो समयदेखिको भूमिसम्बन्धी समस्या समाधानतर्फ यो कदम महत्वपूर्ण भएको बताएका छन् ।

