गाैशाला, साउन २९ गते ।
मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। साउन २८ गतेसम्म प्रदेशमा धान खेती हुने कुल क्षेत्रफलको ९७.७१ प्रतिशतमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा धान रोपाइँ हुने ३ लाख ८२ हजार ४ सय ३३ हेक्टरमध्ये ३ लाख ७३ हजार ६ सय ९३.२९ हेक्टरमा रोपाइँ भइसकेको छ ।
पर्याप्त वर्षा नभए पनि विभिन्न समयमा भएको वर्षा तथा सरकारी र निजी सिँचाइको प्रयोग गर्दै किसानहरूले रोपाइँ पूरा गरेका हुन्।
सिरहा र बारामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस्तै सर्लाहीमा ९९, रौतहट र पर्सामा ९८ तथा सप्तरी र धनुषामा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ ।
मधेशका जिल्लामध्ये महोत्तरीमा भने सबैभन्दा कम ८६.७० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। जिल्लामा धान खेती हुने ४० हजार हेक्टरमध्ये ३४ हजार ७ सय २१ हेक्टरमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
कृषि विकास निर्देशनालयका अनुसार बाँकी क्षेत्रमा पनि रोपाइँ जारी रहेकाले केही दिनभित्रै धान रोपाइँ लगभग पूर्ण हुने अपेक्षा गरिएको छ ।

