मिर्गौला प्रत्यारोप
पूर्व प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र द्वन्द्वपीडितलाई उपचारमा सहुलियत दिने गरी पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज (केएमसी) तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच सम्झौता भएको छ।
सम्झौताअनुसार द्वन्द्वकालमा अंगभंग भएका वा ज्यान गुमाएका पूर्व प्रहरीका परिवारले दुवाकोटस्थित केएमसीमा उपचार गराउँदा अन्तरंग सेवामा शतप्रतिशत छुट पाउनेछन्। परिषद्को सिफारिसमा १०० जना परिवारलाई यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
परिषद्मा आबद्ध अन्य पूर्व प्रहरी तथा आश्रित परिवारका लागि पनि विभिन्न अस्पतालमा उपचार छुटको व्यवस्था गरिएको छ। उनीहरूले दुवाकोटस्थित केएमसीमा ५० प्रतिशत, सिनामंगलस्थित केएमसीमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २० प्रतिशत छुट पाउनेछन्।
सम्झौताको विशेष व्यवस्थाअन्तर्गत पाँच जनासम्म द्वन्द्वपीडितको मिर्गौला प्रत्यारोपण निःशुल्क गरिने भएको छ।
यसैगरी, आकस्मिक अवस्थामा अस्पताल पुग्ने परिषद्का सदस्यलाई २४ घण्टासम्म क्रेडिटमा उपचार गर्ने व्यवस्था गरिएको छ। त्यसका लागि उपचार सुरु भएको २४ घण्टाभित्र परिषद्को सिफारिसपत्र अस्पतालमा बुझाउनुपर्नेछ।
यद्यपि आईभीएफ, सीटीभीएस, कलेजो प्रत्यारोपण, क्याबिन, प्लास्टिक तथा कस्मेटिक सर्जरी, इम्प्लान्ट, सर्जिकल सामग्री र औषधिमा यो छुट लागू नहुने जनाइएको छ। सरकारी स्वास्थ्य बीमा वा अन्य सरकारी उपचार सुविधा उपलब्ध भएमा त्यसको उपयोग गरेपछि मात्र सम्झौताअनुसारको सहुलियत लागू हुनेछ।
सम्झौता २०८३ साउन २९ देखि २०८४ असार मसान्तसम्म लागू हुनेछ। सम्झौतामा पूर्व प्रहरी कर्मचारी परिषद्का अध्यक्ष रमेशकुमार श्रेष्ठ र केएमसीका कार्यकारी अध्यक्ष सोइना शर्माले हस्ताक्षर गर्नुभएको छ।
कार्यक्रममा केएमसी–नोबेलका सञ्चालक सुनील शर्माले आर्थिक अभावका कारण द्वन्द्वपीडित उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले विशेष सुविधा ल्याइएको बताउनुभयो। उहाँले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सके प्रहरीसम्बन्धी स्वास्थ्य सेवाका धेरै समस्या समाधान गर्न सकिने धारणा पनि राख्नुभयो।

