सिरहा, साउन ३० गते ।
सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युत्को तार सर्ट हुँदा आगलागी भएर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

शनिबार राति करिब १ बजे स्थानीय भनुवा मण्डलको घरमा विद्युत्को तार सर्ट भई अचानक आगलागी भएको हो ।

आगलागीबाट घरमा भण्डारण गरेर राखिएको धान, चामल, गहुँ, खाद्यान्न, केही नगद, प्लाइ, भाँडाकुँडा लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

आगो लागेको थाहा पाएलगत्तै स्थानीयवासीले नियन्त्रणको प्रयास गरेका थिए। गोलबजार नगरपालिकाको दमकलसमेत घटनास्थलमा पुगेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। समयमै आगो नियन्त्रणमा आएपछि घरका अन्य भागमा आगो फैलिनबाट जोगिएको स्थानीयले बताएका छन् ।

कल्याणपुर नगरपालिका–९ का वडाध्यक्ष विनोद यादवका अनुसार प्रारम्भिक जानकारीमा विद्युत्को तार सर्ट भएर आगलागी भएको देखिएको छ। आगलागीबाट घरमा राखिएका खाद्यान्न तथा अन्य सामग्रीमा ठूलो क्षति पुगेको उनले बताए ।

घटनापछि इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली घटनास्थलमा पुगेर मुचुल्का तथा क्षतिको विवरण संकलन गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार