गाैशाला, साउन ३० गते ।
ऐतिहासिक तथा धार्मिक नगरी मटिहानीमा आजदेखि पौराणिक तथा धार्मिक झूलनोत्सव सुरु हुँदैछ। मिथिला संस्कृतिको महत्वपूर्ण पर्वका रूपमा मनाइने झूलनोत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार सञ्चालन हुने गर्दछ ।

उत्सवका क्रममा मटिहानीस्थित लक्ष्मीनारायण मठबाट भगवान् राम र माता सीताको मूर्तिलाई विशेष रूपमा सजाइएको डोलामा राखेर भजन–कीर्तन तथा बाजागाजासहित झूला घरसम्म पुर्‍याउने परम्परा छ। त्यहाँ धार्मिक विधिअनुसार पूजा–आराधना गरी राम–सीताको मूर्तिलाई झुलाउने गरिन्छ ।

झूलनोत्सवको मुख्य आकर्षण दैनिक हुने डोला यात्रा रहनेछ। साँझपख हुने भजन–कीर्तन, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधिले मटिहानीको वातावरण भक्तिमय बनाउने गर्दछ।
पुस्तौँदेखि चलिआएको झूलनोत्सव धार्मिक आस्थासँगै मिथिला संस्कृतिको मौलिक परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ। उत्सवमा महोत्तरीसहित आसपासका जिल्लाबाट समेत ठूलो संख्यामा श्रद्धालु तथा भक्तजन मटिहानी पुग्ने गरेका छन् ।

झूलनोत्सवले मटिहानीको धार्मिक पर्यटन प्रवर्द्धनसँगै मिथिलाको मौलिक कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार