गाैशाला, साउन ३० गते ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको ईभी माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकमा पार्किङ गरिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी माइक्रोलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र माइक्रो सडकबाट करिब ३०–४० मिटर तल भिरमा खसेका थिए ।
दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले काभ्रेपलाञ्चोक बनेपा–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछाप ठाडादेवी–२ की करिब ६५ वर्षीया उदयमाया खत्रीलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने करिब २५ वर्षीया सुजता पोखरेलसहित तीन जना घाइते भएका छन्। घाइते अन्य दुई जना काभ्रेको बनेपा–१० की करिब ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ–६ की करिब ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन् ।
घाइते तीनै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

