गाैशाला, साउन ३१ गते ।
धनुषाको मिथिला नगरपालिका–५ स्थित दिलीप वाटिका तथा औरही बाबा स्थान परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिथिला नगर समितिले वृक्षरोपण गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा पाँच सयभन्दा बढी बिरुवा रोपिएको हो ।
रास्वपा मिथिला नगर अध्यक्ष विजयकुमार शाहका अनुसार कार्यक्रममा आप, अमला, अम्बालगायत करिब १० प्रजातिका बिरुवा रोपिएका छन्। वृक्षरोपणमा प्रतिनिधिसभा सदस्य तथा रास्वपा नेता राजकिशोर महतो, पार्टीका केन्द्रीय सदस्य मन्जु सिंह र सुस्मा बस्नेत, धनुषा जिल्ला सचिव रमेश पहाडीलगायत स्थानीय पदाधिकारी तथा पालिका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य महतोले जलवायु परिवर्तनका कारण विश्व नै संकटमा परिरहेका बेला वातावरण संरक्षणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो। तराई–मधेशमा सुख्खाको समस्या बढ्दै गएको र पहाडी क्षेत्रमा हिमालको हिउँ पग्लिने क्रम तीव्र भइरहेकाले वातावरण संरक्षण चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ थियो ।
महतोले वातावरण संरक्षणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपालमा भएका विभिन्न परिवर्तनमा युवाको योगदान उल्लेखनीय रहेको दाबी गर्नुभयो। रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर पर्यावरण संरक्षणलाई अभियानका रूपमा अघि बढाएको उहाँले बताउनुभयो ।
रास्वपा मिथिला नगर समितिले एकदिने वृक्षरोपणमा मात्र सीमित नभई रोपिएका बिरुवाको संरक्षण, नियमित हेरचाह र हुर्काउने कार्यलाई समेत निरन्तरता दिने जनाएको छ ।

