गाैशाला, भदौ १ गते ।
महोत्तरीको औरही नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा ह्याण्डपम्प (चापाकल) खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत काम गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार चापाकल खरिद तथा आपूर्तिमा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा उनीहरूमाथि बिगो कायम गरिएको छ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मैथली, लेखापाल विजयकुमार यादव र योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध जनही ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो कायम गरिएको छ ।
त्यस्तै, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव र सब–इन्जिनियर विपिनकुमार मण्डलविरुद्ध जनही २० लाख ४९ हजार ४५० रुपैयाँ, जिन्सी शाखा प्रमुख शिवशंकर यादवविरुद्ध १५ लाख ६३ हजार ५८१ रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।
आपूर्तिकर्तातर्फ लिला आयरन स्टोर्सका सञ्चालक विनयकुमार यादवविरुद्ध ५ लाख ३४ हजार ८७६ रुपैयाँ, डि.एम. जेनरल अर्डर सप्लायर्सका सञ्चालक दुधनाथ कुमरविरुद्ध ११ लाख ८९ हजार ४७१ रुपैयाँ र श्रीराम इन्टरप्राइजेजका सञ्चालक अमरनाथ कुमरविरुद्ध २ लाख २० हजार १९७ रुपैयाँ बिगो कायम गरिएको छ ।
यसैगरी जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स)का प्रोप्राइटर रामबाबु चौधरीविरुद्ध ७ लाख ९ हजार ६२३ रुपैयाँ तथा क्वालिटी सोलुसन कम्पनी प्रालिका प्रबन्ध निर्देशक मनोजकुमार यादवविरुद्ध ७ लाख ११ हजार ९०० रुपैयाँ बिगो कायम गरिएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको जनाएको छ ।

