गाैशाला, भदौ ५ गते ।
नेपाल प्रेस युनियन महोत्तरी शाखाको अध्यक्षमा सन्तोष सिंह पुनः सर्वसम्मत चयन भएको छ। शुक्रबार बर्दिबासस्थित गौतम होटलमा सम्पन्न युनियनको आठौँ जिल्ला अधिवेशनले सिंहको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अध्यक्षमा दोस्रोपटक जिम्मेवारी पाएपछि सिंहले महोत्तरीको पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन पत्रकारबीच सहकार्य, एकता र समन्वय आवश्यक रहेको बताउनुभयो । पत्रकारका पेसागत समस्या, सुरक्षा तथा श्रमजीवी पत्रकारका अधिकारका विषयमा सम्बन्धित निकायसँग निरन्तर पहल गर्ने उहाँको भनाइ थियो ।
अधिवेशनबाट उपाध्यक्षमा संजितकुमार मण्डल, महिला उपाध्यक्षमा प्रेमाकुमारी धिमिरे, सचिवमा नवीन चौधरी, कोषाध्यक्षमा माधव पौडेल तथा सहसचिवमा धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’ सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा अनुरागकुमार यादव, रोशनकुमार यादव, मन्जित राम, वैभव चौधरी र पवन राम चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले पत्रकारको पेसागत सुरक्षा, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित तथा पत्रकारिता क्षेत्रको संस्थागत विकासलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
अधिवेशनमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कर्ण, महासचिव दिलीप पौडेल, सचिव अजित तिवारी, प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, केन्द्रीय प्रतिनिधि सकिन्द्र पासवान, केन्द्रीय सदस्य गणेशराज रिजाल लगायतको सहभागिता रहेको थियो ।
अधिवेशनले शाखाका सचिव नवीन चौधरीद्वारा प्रस्तुत सांगठनिक तथा आर्थिक प्रतिवेदनसमेत सर्वसम्मत रूपमा पारित गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष सिंहले नयाँ कार्यसमितिलाई सबै पत्रकारको साझा संस्था बनाउँदै आपसी सहकार्य र समन्वयमार्फत युनियनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

