सुनसरी, भदौ ५ गते ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीको विद्युत् तथा सिँचाइ क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक रणनीति तयार पारेर योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य इञ्जिनियर दीपककुमार साहको पहलमा शुक्रबार मन्त्री श्रेष्ठले मन्त्रालयका अधिकारीसहित भोक्राहा नरसिंह र इनरुवा क्षेत्रका विद्युत् तथा सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले इनरुवास्थित ४०० केभी भोक्राहा सबस्टेसनको अवस्थाबारे जानकारी लिनुका साथै पूर्वी क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्थाबारे जानकारी लिनुभयो। उहाँले सुनसरी खोलालगायत बाढी तथा डुबान प्रभावित क्षेत्रको समेत अवलोकन गर्नुभयो ।

मन्त्री श्रेष्ठले इनरुवालाई विद्युत्को ‘हब’का रूपमा विकास भइरहेको उल्लेख गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति, सुनसरी खोलाबाट हुने बाढी तथा डुबानको जोखिम न्यूनीकरण र उत्पादित विद्युत् भारततर्फ निर्यात गर्न आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने बताउनुभयो।
उहाँले विद्युत् क्षेत्रमा देखिएका समस्या समाधानका लागि विधिको शासनसँगै आवश्यक नीतिगत सुधारमा समेत जोड दिइने बताउनुभयो ।

निरीक्षणकै क्रममा सरकारी अधिकारी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता–कार्यकर्तासँग भएको भेटघाटमा दुहबी क्षेत्रको विद्युत् आपूर्ति, टेंग्रा खोलाको समस्या तथा सिँचाइसम्बन्धी विषय उठाइएको थियो। दुहबीका सरोज सिंहले स्थानीय समस्या मन्त्रीसमक्ष राख्नुभएको थियो ।

यसैगरी प्रतिनिधिसभा सदस्य इञ्जिनियर दीपककुमार साहले पूर्वी क्षेत्रमा सिँचाइको पहुँच, नहरहरूको अवस्था तथा सिँचाइ पूर्वाधारमा देखिएका समस्याबारे मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो। उहाँले सुनसरी खोलामा तटबन्ध निर्माण, सुनसरी–मोरङ सिँचाइ आयोजना तथा शाखा नहरमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।

जवाफमा मन्त्री श्रेष्ठले उठाइएका सबै समस्या तत्काल समाधान गर्न सम्भव नभए पनि प्राथमिकता निर्धारण गरेर क्रमशः समाधान गर्दै जाने बताउनुभयो। आवश्यकताअनुसार रणनीति तयार पारिने र नीतिगत सुधार आवश्यक देखिए त्यसका लागि समेत पहल गरिने उहाँको भनाइ थियो ।

मन्त्री श्रेष्ठले विद्युत् तथा सिँचाइ पूर्वाधारको विकासलाई नागरिकको प्रत्यक्ष हितसँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निरीक्षण टोलीमा मन्त्रालयका सचिव, सहसचिव, मन्त्रीका निजी सचिव तथा सचिवालयका सदस्यलगायत अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार