गाैशाला, भदौ ६ गते ।
नेपाल–भारत सीमामा हुने अपराध नियन्त्रण तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन दुवै देशका सुरक्षा अधिकारीबीच समन्वय थप मजबुत बनाउने सहमति भएको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा शनिबार सम्पन्न नेपाल–भारत सीमा सुरक्षा समन्वयात्मक बैठकमा सीमा सुरक्षा, लागूऔषध नियन्त्रण, मानव तस्करी, अवैध हातहतियारको ओसारपसार तथा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका विषयमा छलफल भएको हो ।

बैठकमा नेपालतर्फबाट महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा भारततर्फबाट सीतामढीका जिल्ला मजिस्ट्रेट र सुरक्षा अधिकारी सहभागी थिए ।

बैठकमा सीमा क्षेत्रमा संयुक्त गस्तीलाई थप विस्तार गर्ने, आपराधिक घटनासम्बन्धी सूचना तत्काल आदानप्रदान गर्ने तथा लागूऔषध र अन्य सीमा अपराध नियन्त्रणका लागि विशेष समन्वय गर्ने सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

त्यस्तै, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा सीमावर्ती क्षेत्रमा हुने मानव तस्करी नियन्त्रणका विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो। बाढी तथा विपद्का समयमा आवश्यक समन्वय र सहयोगका विषयमा पनि अधिकारीहरूले विचार आदानप्रदान गरेका थिए ।

सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानियाले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षाका विषयमा भइरहेको सहकार्य सकारात्मक रहेको बताउँदै आगामी दिनमा लागूऔषध नियन्त्रण र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउन विशेष संयन्त्र निर्माण गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेस सागर, सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानिया तथा सीतामढीका प्रहरी उपरीक्षक अमित रञ्जनलगायत सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।

दुवै देशका अधिकारीहरूले नियमित समन्वय र सूचना आदानप्रदानले सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणसँगै सीमा सुरक्षा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार