सप्तरी, भदौ ७ गते ।
शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिका खुशी खातुन मृत अवस्थामा फेला परेपछि प्रहरीले उनकी १९ वर्षीया सौतेली आमा मुस्कान खातुनलाई पक्राउ गरेको छ ।
घरबाट अचानक बेपत्ता भएकी खुशीको खोजी गर्ने क्रममा आइतबार घरपछाडिको झाडीमा शव फेला परेको थियो ।

घटनाको जानकारी पाएपछि पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ ।

सप्तरीका प्रहरी प्रमुख रूपक खड्काका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको मृत्युमा सौतेनी आमाको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। बालिकाको शरीरमा बाहिरी चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकका बुबा मोहम्मद इरफान वैदेशिक रोजगारीका लागि कतारमा छन्। घरायसी तथा सम्पत्तिसम्बन्धी विषयलाई लिएर इरफानकी जेठी र कान्छी पत्नीबीच पछिल्लो समय विवाद हुँदै आएको स्थानीयले बताएका छन् ।

बालिकाको मृत्युको खबरपछि आक्रोशित स्थानीयले रुपनी बजार तथा राजमार्गमा केही समय प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए। प्रहरीको पहलपछि यातायात तथा बजार सञ्चालनमा आएको छ ।

घटनाको वास्तविक कारण र संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार