पाेखरा, भदौ ९ गते ।
पोखराका पर्यटन व्यवसायी र संयुक्त अरब इमिरेट्स (यूएई) का महामहिम राजदूतबीच पोखरा–दुबई नियमित उडानलाई प्रभावकारी र दीगो बनाउने विषयमा छलफल भएको छ।
छलफलमा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नाटा गण्डकी प्रदेशका कार्यकारी सदस्य विजय पौडेललगायत पर्यटन व्यवसायीहरूको सहभागिता थियो। नाटा केन्द्रीय अध्यक्ष भरतजंग पाण्डेको समेत विशेष उपस्थिति रहेको थियो।
व्यवसायीहरूले पोखराबाट दुबई हुने नियमित उडानलाई समग्र नेपाल, गण्डकी प्रदेश र पोखराको पर्यटन विकासका लागि ऐतिहासिक तथा महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै यसलाई सफल र दीगो बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
छलफलका क्रममा दुबई जाने नेपाली कामदारका लागि लागू गरिएको PCC प्रक्रिया तत्काल हटाउन सम्भव नभए पनि पर्यटक भिसामा दुबई जाने नेपाली यात्रुका लागि अनिवार्य गरिएको PCC प्रक्रिया हटाउन राजदूतसमक्ष विशेष आग्रह गरिएको थियो। उक्त विषयमा राजदूतबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको व्यवसायीहरूले बताएका छन्।
पोखरा–दुबई उडानलाई सफल बनाउन पर्यटन व्यवसायी, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित सबै पक्षले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

