काठमाडौं, भदौ १० गते ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित टिमुरेमा आएको भीषण बाढीले बस्ती तथा बजार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण स्थानीयहरू विस्थापित भएका छन् भने तीन सयभन्दा बढी मानिस उद्धारको पर्खाइमा रहेको बताइएको छ ।
वडा सदस्य पेमा दोर्जे घलेका अनुसार बाढीले टिमुरेको बस्ती र बजारमा व्यापक क्षति पुर्याएको छ। क्षतिको अवस्था अत्यन्त भयावह रहेकाले मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्नसमेत कठिन भइरहेको उनले बताए ।
बाढीपछि स्थानीयसँग खानेकुरा, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्रीको अभाव भएको छ। सुरक्षित स्थानका रूपमा केही मानिस बिहानै उच्च भूभागमा पुगेका छन् ।
घलेले टिमुरेमा फसेका तीन सयभन्दा बढी स्थानीयलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने भन्दै हेलिकप्टरसहितका उद्धार माध्यम परिचालन गर्न सरकारसँग आग्रह गरेका छन् ।
उनका अनुसार प्रभावित क्षेत्रमा तत्काल उद्धारसँगै खाद्यान्न, कपडा र अन्य अत्यावश्यक राहत सामग्री पुर्याउनुपर्ने अवस्था रहेको छ ।

