सर्लाही, भदौ १० गते

सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि सेवाग्राहीलाई भुक्तानी दिने क्रममा घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले दुवै कर्मचारीलाई ७ लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा ढकाल र चौधरीको मिलेमतोमा १३ वटा डिप बोरिङ तथा मोटर जडानका लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरिएको खुलेको अख्तियारले जनाएको छ। आवश्यक कागजात तथा कागजी प्रक्रिया आफैंले तयार गरी उपभोक्ता समितिका अध्यक्षको हस्ताक्षर र छापसमेत प्रयोग गरिएको आयोगको दाबी छ।

काम सम्पन्न भएपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रकम बार्गेनिङ गरी ७ लाख ५० हजार रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ।

आयोगले उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै ७ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ।

दुवै जनालाई कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार