गाैशाला, भदौ १० गते ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति गौशाला नगरपालिकाले दुःख व्यक्त गर्दै राहतका लागि प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
गौशाला नगरपालिकाका नगर प्रमुख डा. दीपेन्द्र महतोले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
राष्ट्रिय विपद्को यस कठिन अवस्थामा नेपाल सरकारबाट सञ्चालन हुने खोज, राहत तथा उद्धारका कार्यमा आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन गौशाला नगरपालिका तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ। विपद्का समयमा जोखिममा पर्न सक्ने गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखी उद्धार तथा पुनःस्थापनाको व्यवस्था मिलाउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षणसमेत गराइएको छ ।
नगरपालिकाले विपद् प्रभावित नागरिकको पीडामा मलम लगाउन नेपाल सरकारबाट गरिने सबै प्रकारका प्रयासमा साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ। सोही क्रममा प्रधानमन्त्री राहत कोषमा तत्काल १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख महतोले जानकारी दिएका छन् ।
यसैबीच, सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै गौशाला नगरपालिकाअन्तर्गत नदी तथा खोला किनार आसपास बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ। सम्भावित बाढी तथा डुबानको जोखिमप्रति सजग रहन र आवश्यक सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरिएको छ ।
भोटेकोशीमा आएको बाढीपछि त्रिशूलीसहित नदी तटीय क्षेत्रमा समेत जोखिम कायमै रहेको सरकारी निकायले जनाएको छ ।


