काठमाडौं : प्रधानमन्त्री भालेन्द्र शाहले बाढीपहिरो प्रभावित नुवाकोटको स्थलगत निरीक्षणपछि सरकार उद्धार, राहत, उपचार र पुनःस्थापनामा केन्द्रित रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार टोलीसँग प्रत्यक्ष जानकारी लिएको बताउँदै विपद्को अवस्था अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी उद्धार तथा खोजीमा परिचालन भएका छन्। हवाई तथा स्थलमार्गबाट उद्धार जारी रहेको र आज मात्रै ६९ हवाई उडानमार्फत ३५१ जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रभावित क्षेत्रमा करिब ३ हजार ५०० जनाका लागि विद्यालय तथा सार्वजनिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा तत्काल राहतका लागि स्रोत परिचालन गर्नुका साथै खाद्यान्नलगायत राहत सामग्री पठाइएको प्रधानमन्त्री शाहले बताउनुभयो ।
घाइते तथा प्रभावित नागरिकको निःशुल्क उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। आवश्यक मेडिकल टोली, औषधि, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा पनि परिचालन गरिएको छ ।
त्यस्तै, अवरुद्ध दूरसञ्चार सेवा सञ्चालनमा ल्याउन प्राविधिक टोली, जेनेरेटर र ब्याट्री परिचालन गरिएको छ। सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारजस्ता अत्यावश्यक पूर्वाधारको पुनःस्थापनालाई प्राथमिकता दिइएको प्रधानमन्त्रीले बताउनुभयो।
भोटेकोशी र त्रिशूली नदीको बहाव, सम्भावित पहिरो तथा अन्य जोखिमको निरन्तर निगरानी भइरहेको भन्दै प्रधानमन्त्री शाहले नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले विपद्को समयमा संघ, प्रदेश र स्थानीय तहसँगै सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच समन्वय भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित छ।”
उद्धार तथा राहतका लागि आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री शाहले संकटको अन्त्य नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहने बताउनुभयो।

