सर्लाही: हरिवन नगरपालिका–६ स्थित चार्ली सामुदायिक वन नजिक नहरको डिलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक हरिवन नगरपालिका–७ का करिब ४९/५० वर्षीय प्रेमबहादुर थिङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थिङ भदौ ८ गते बिहान करिब ६ बजे घरबाट कसैलाई जानकारी नदिई बाहिरिएका थिए। त्यसपछि उनी घर नफर्किए पनि नियमित रूपमा अत्यधिक मदिरा सेवन गर्ने भएकाले परिवारले आफैं फर्किने अनुमान गरेको थियो ।
भदौ ११ गते दिउँसो करिब १ बजे स्थानीयवासी निगुरो टिप्न जाने क्रममा चार्लीबाट मूर्तियातर्फ जाने नहरको डिलमा थिङलाई घोप्टो अवस्थामा देखेपछि घटनाबारे परिवारलाई जानकारी गराएका थिए। त्यसपछि करिब १ः३० बजे इलाका प्रहरी कार्यालय मूर्तियामा खबर गरिएको थियो ।
सूचना पाएपछि प्रहरी नायब निरीक्षक कृष्ण आचार्यको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घटनास्थलको सुरक्षा तथा थप अनुसन्धानका लागि अस्थायी प्रहरी पोस्ट घुर्कौलीबाट प्रहरी नायब निरीक्षक रामदिनेश साहको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको थियो ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक सुरेन्द्रविक्रम बर्तौलाको नेतृत्वमा टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ। मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।

