गाैशाला: सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित मधुबनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार राति करिब ९ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३० एएल ३१८० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब साढे पाँच फिट तल रहेको पुलको साइफनमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा बलरा नगरपालिका–६ का १७ वर्षीय अभिनाष बैठा र सोही स्थानका १८ वर्षीय रोहित बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक अभिनाषलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। उनको उपचारकै क्रममा शुक्रबार राति करिब १०ः३० बजे मृत्यु भएको हो ।

त्यस्तै, मोटरसाइकलमा बीचमा सवार रोहितको दुवै खुट्टा तथा शरीरको भित्री भागमा गम्भीर चोट लागेको थियो। मलङ्गवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा शनिबार बिहान करिब २ः३१ बजे बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारतको बिहारस्थित सीतामढी जिल्ला, बथनाहा थाना रनौली–१० घर भई हाल बलरा नगरपालिका–६ मा बस्दै आएका २४ वर्षीय शनि कुमार बैठा घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय गडहियाबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार