काठमाडौं: नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच मंगलबार टेलिफोन वार्ता भएको छ ।

करिब १० मिनेट भएको वार्तामा जापानी प्रधानमन्त्री ताकाइचीले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेकी थिइन्। उनले विपद्को कठिन अवस्थामा जापान नेपालसँगै रहेको बताइन् ।

जापानी परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा आपत्कालीन राहत सामग्री पठाउनुका साथै अन्तर्राष्ट्रिय आपत्कालीन राहत टोलीसमेत पठाउने तयारी भइरहेको छ। जापानले त्रिपाल, ब्ल्याङ्केट लगायतका राहत सामग्री छिट्टै नेपाल पठाउने जनाएको छ ।

वार्ताका क्रममा जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा सम्पर्कविहीन रहेका पाँच जापानी नागरिकको खोजी तथा उद्धारमा अधिकतम सहयोग गर्न प्रधानमन्त्री शाहसँग आग्रह गरेकी छन् ।

प्रधानमन्त्री शाहले विपद्बाट भएको क्षति तथा सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार र राहत अभियानबारे जापानी समकक्षीलाई जानकारी गराएका थिए। उनले जापानी सरकार र जनताले देखाएको सहयोग, सहानुभूति तथा ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार