काठमाडौं : बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा शव पहिचान कार्यमा सहयोग पुर्‍याउन चीनले डीएनए विज्ञसहितको टोली नेपाल पठाएको छ ।

चिनियाँ सेनाको सैन्य विमान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानमा चीनका पाँच जना डीएनए पहिचानसम्बन्धी विज्ञ रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

बाढीपहिरोमा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवको पहिचानमा विज्ञ टोलीले नेपाली पक्षलाई प्राविधिक सहयोग गर्ने बताइएको छ ।

विमानमा विपद् प्रभावितका लागि आवश्यक राहत सामग्रीसमेत ल्याइएको छ। यो चीनले नेपाल पठाएको राहत सामग्रीको दोस्रो खेप हो ।

यसअघि चिनियाँ सेनाका दुईवटा कार्गो विमानमार्फत नेपालमा राहत सामग्री ल्याइएको थियो। चीनले पछिल्लो विपद्मा नेपाललाई राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार