काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर कार्कीसहित मध्यस्थकर्ताको भूमिकामा रहेकी आस्मा कार्कीलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार इन्जिनियर कार्कीले ‘स्ट्रक्चर एनालाइसिस’ सम्बन्धी काम स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग पटक–पटक रकम माग गर्दै दुःख हैरानी दिने गरेको उजुरी परेको थियो ।
उजुरीका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टङ्गालबाट खटिएको टोलीले सोमबार नगरपालिका कार्यालय थली–डाँछीबाट दुवै जनालाई ६४ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार विशेष अदालतबाट म्याद थप अनुमति लिएर घुस/रिसवत भ्रष्टाचारसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

