रसुवा : रसुवाको टिमुरेमा मात्रै बाढीपहिरोपछि ९८ वटा शव फेला परेका छन्। बाढीले बगाएर ल्याएका शव संकलनसँगै पछिल्ला केही दिनदेखि पुरिएका बस्तीमा उत्खनन् गरेरसमेत शव खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तीन दिनदेखि टिमुरेका विभिन्न क्षेत्रमा उत्खनन् गर्दा ९७ वटा शव फेला पारेको हो। यसअघि एक शव फेला परेको थियो। यससँगै टिमुरेमा भेटिएका शवको संख्या ९८ पुगेको हो ।
रसुवाका प्रहरी प्रमुख डीएसपी अशोक थापाका अनुसार टिमुरे क्षेत्रमा अब खोजी कार्य लगभग सकिएको छ। उनका अनुसार स्याफ्रुबेँसीमा ९ तथा बेत्रावतीमा ११ वटा शव फेला परिसकेका छन् ।
टिमुरेमा फेला परेका शवलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याएर आवश्यक प्रक्रिया अघि बढाइएको छ। सुरक्षाकर्मीले नदी किनारलगायत अन्य प्रभावित क्षेत्रमा समेत खोजी तथा उद्धारलाई निरन्तरता दिएका छन् ।
यसैबीच, बाढीका कारण ठूलो संख्यामा मानिस फसेको आशंका गरिएको सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धारका लागि उत्खनन् भइरहेको छ। नेपाली सेनाले विदेशी प्राविधिक तथा विज्ञको सहयोगमा सुरुङभित्र फसेकाहरूको खोजी गरिरहेको भए पनि हालसम्म उल्लेख्य सफलता प्राप्त हुन सकेको छैन ।
बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि सुरक्षाकर्मीले सम्भावित सबै क्षेत्रमा खोजतलास जारी राखेका छन् ।

