काठमाडौं : पछिल्लो बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहोराका अनुसार तीन जिल्लामा मात्रै ७ हजार ५ सय ७० घर पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रारम्भिक मूल्याङ्कनअनुसार निजी आवासतर्फ करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै विद्यालय, सरकारी कार्यालयलगायत करिब ४५ सार्वजनिक संरचनामा क्षति पुगेको छ। सार्वजनिक संरचनातर्फ थप करिब ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको विभागले जनाएको छ ।

बोहोराका अनुसार रसुवागढीदेखि चितवनसम्मका विभिन्न बस्ती बाढीको चपेटामा परेका छन्। विशेषगरी रसुवागढीदेखि स्याफ्रुबेँसीसम्मका कतिपय बस्ती पूर्णरूपमा बगाएपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

हाल २४ वटा होल्डिङ सेन्टरमा ३ हजार ४५० जना बसिरहेका छन्। नुवाकोटका १६ केन्द्रमा २ हजार ४०३ जना, रसुवाका ४ केन्द्रमा ३५० जना, धादिङका ४ केन्द्रमा ४०० जना तथा काठमाडौंको स्वयम्भू–याङ्लो क्षेत्रमा ३०० जना राखिएको विभागले जनाएको छ ।

बाढीपीडितलाई राखिएका १८ विद्यालयमा पठनपाठन प्रभावित भएकाले विद्यालय सञ्चालनमा सहज बनाउन आगामी तीन साताभित्र ट्रान्जिट अर्थात् अस्थायी आवास केन्द्र व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

अस्थायी आवासमा ९० करोड, स्थायी पुनर्निर्माणमा ५ अर्ब आवश्यक
विभागका अनुसार क्षतिग्रस्त ७ हजार ५७० घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न प्रारम्भिक रूपमा करिब ९० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

दीर्घकालीन पुनर्निर्माण तथा स्थायी आवास निर्माणका लागि भने प्रतिघर ७ लाख रुपैयाँका दरले करिब ५ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ। क्षतिको विस्तृत मूल्याङ्कनपछि यी रकम र प्रभावित घरपरिवारको संख्या थप बढ्न सक्ने विभागले जनाएको छ ।

महानिर्देशक बोहोराले २०७२ सालको भूकम्प र अहिलेको बाढीबाट भएको क्षतिको प्रकृति फरक रहेको उल्लेख गर्दै अहिले कतिपय बस्ती नै बाढीले बगाएकाले प्रभावितलाई पुनःस्थापना गर्न थप चुनौती रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार