काठमाडौं : बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि चीनले थप आपत्कालीन मानवीय सहायता पठाएको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० (Y-20) विशाल ढुवानी विमानमार्फत मंगलबार ग्वाङडोङ प्रान्तको सेन्जेनबाट सहायता सामग्री नेपाल पठाइएको हो ।

सिन्ह्वाका अनुसार विमानमा करिब ५.८ टन राहत तथा उद्धार सामग्री रहेको छ। सामग्रीमा पानी शुद्धीकरण उपकरण, प्रकाशसम्बन्धी उपकरण, आनुवंशिक परीक्षणका उपकरण तथा ड्रोनलगायत सामग्री समावेश छन् ।

सहायता सामग्रीसँगै सेन्जेनका पाँच विशेषज्ञ टोली पनि नेपाल आएका छन्। उनीहरूले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यमा आवश्यक प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

नेपालमा पछिल्लो समय बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि चीनले मानवीय सहयोगलाई निरन्तरता दिँदै थप सहायता उपलब्ध गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार