गाैशाला : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति मटिहानी नगरपालिकाले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै बाढीबाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरिएको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाले नेपाल सरकारको राहत तथा उद्धार अभियानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मानवीय सहयोगका लागि नगरपालिकाले आफ्नो तर्फबाट निरन्तर सक्रिय रहने जनाएको छ ।

यसैबीच, कार्यपालिका बैठकले भोटेकोशी बाढी तथा पहिरोपछि सम्पर्कविहीन रहेका मटिहानी नगरपालिका–७ निवासी ४० वर्षीय गंगाराम मण्डलको यथाशीघ्र खोजी तथा उद्धार गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ ।

नगरपालिकाले विपद्मा परेका नागरिकको खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि राज्यका सम्बन्धित निकायलाई थप प्रभावकारी रूपमा परिचालन गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार