काठमाडौं: सरकारले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतदेखि राष्ट्रिय शोक र सार्वजनिक बिदासम्मका ७ महत्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्का निर्णयहरू :
१. एडीबीको ५ मिलियन डलर अनुदान स्वीकार गर्ने
भोटेकोशी बाढी प्रभावितको जीवनरक्षा तथा तत्कालीन उद्धार र राहतका लागि एसियाली विकास बैंक (एडीबी)बाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने ।

२. बाढी प्रभावित व्यवसायलाई सहुलियत दिने
भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन राहत, कर तथा महसुलमा सहुलियतसहितका सुविधा उपलब्ध गराउने ।

३. २५ हजार मेट्रिकटन चिनी आयात गर्ने
साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिकटन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने ।

४. उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता दिने
खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने। घाइतेलाई निःशुल्क उपचार तथा मृत्यु भए परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत दिने ।

५. भदौ २३ गते सार्वजनिक बिदा दिने
‘जेनजी शहीद दिवस’का अवसरमा विसं २०८३ भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने ।

६. भदौ २२ गते राष्ट्रिय शोक मनाउने
भोटेकोशी बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा घटनाको १३औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने। सो दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने ।

७. नारायणप्रसाद भट्ट सचिवमा बढुवा
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने ।

प्रतिक्रिया

सम्बन्धित समाचार