बाराको पचरौता नगरपालिका–७ बाट प्रहरीले १५१ किलो अवैध गाँजा बरामद गरेको छ । शनिबार राति धान खेतको आलीको बाटो हुँदै गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले एम्बुस थापेको थियो ।

बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धान खेतको बाटोमा ८–९ जनाको समूहमा रहेका व्यक्तिहरू पिठ्युँमा झोलाजस्तो बनाएर गाँजा बोकेर आउँदै गरेको अवस्थामा टोलीले नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीलाई देखेपछि उनीहरूले गाँजाका पोका खेतमै फालेर फरार भएका थिए ।

प्रहरीले घटनास्थलबाट ९ वटा जुटका बोरामा राखिएको गाँजा बरामद गरेको हो। तौल गर्दा प्रतिपोका १६.७७ किलोका दरले कुल १५१ किलो गाँजा रहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

बरामद गाँजा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ। गाँजा फालेर फरार भएका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार