जनकपुरधाम: पहिचानवादी तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूले गठन गरेको **‘अग्रगामी मोर्चा’**ले मधेश प्रदेशमा आफ्नो पहिलो प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

मोर्चाका अनुसार भदौ २७ गते जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुनेछ। कार्यक्रममा मोर्चामा आबद्ध राजनीतिक दल तथा नेता–कार्यकर्ताको सहभागिता रहनेछ। पहिचानको पक्षमा रहेका व्यक्तिहरूलाई समेत कार्यक्रममा सहभागी हुन आयोजकले आह्वान गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको संरक्षण गर्दै बाँकी अधिकार प्राप्तिका लागि पहिचानवादी र परिवर्तनकारी शक्तिबीच सहकार्य आवश्यक रहेको निष्कर्षसहित केही दिनअघि मोर्चा गठन गरिएको हो ।

मोर्चाले पहिचान, संघीयता, सामाजिक न्याय, समानुपातिक समावेशिता तथा अधिकारका बाँकी मुद्दालाई प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने जनाएको छ ।

जनकपुरधाममा हुने अभिमुखीकरणमार्फत मोर्चाको उद्देश्य, नीति, कार्यक्रम र आगामी राजनीतिक रणनीतिबारे नेता–कार्यकर्तालाई जानकारी गराइने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई मधेशमा संगठन विस्तारसँगै पहिचानवादी तथा परिवर्तनकारी शक्तिबीच सहकार्य र समन्वय बलियो बनाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार