एजेन्सी
नयाँदिल्ली: भारतको राजधानी नयाँदिल्लीको मोतीबागस्थित सत्य निकेतन क्षेत्रमा चारतले भवन भत्किँदा ठूलो त्रास फैलिएको छ। भवनको भग्नावशेषमा ५० देखि ६० जना विद्यार्थी फसेको हुनसक्ने आशङ्का गरिएको छ ।
आइतबार दिउँसो करिब १ः३० बजे भवन अचानक भत्किएको हो। पछिल्लो तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण भवन कमजोर बनेपछि दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटना लगत्तै प्रहरी, दमकल, दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) र एनडीआरएफका टोली उद्धारमा परिचालित भएका छन्। उद्धारकर्ताले भग्नावशेष हटाउँदै फसेकाहरूको खोजी गरिरहेका छन्। हालसम्म तीन विद्यार्थीलाई जीवितै उद्धार गरी एम्स ट्रमा सेन्टर पुर्याइएको जनाइएको छ ।
भवनमा होस्टल वा पीजी सञ्चालनमा रहेको र दुर्घटनाका बेला धेरै विद्यार्थी भवनभित्रै रहेको प्रारम्भिक विवरण छ। यद्यपि, घटनाका समयमा भवनमा ठ्याक्कै कति जना थिए भन्ने यकिन हुन सकेको छैन ।
भवनसँगै रहेको अर्को संरचनासमेत जोखिममा देखिएपछि प्रशासनले आसपासको क्षेत्र खाली गराएको छ। घटनाको कारण र क्षतिको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको छ ।

