बारा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिप्रामा बोलेरो पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
सोमबार बिहान पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना.५ च २२७७ नम्बरको पिकअप आर्मी ब्यारेक अगाडि अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। त्यसपछि डिभाइडर पार गर्दै पिकअप सडकको दाहिनेतर्फ पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा वीरगन्ज–३० प्रोसतीपुरका २२ वर्षीय चालक जैमुदिन अन्सारी गम्भीर घाइते भएका थिए। उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्याइएका उनको बिहान ८ः४५ बजे मृत्यु भएको हो ।
पिकअपमा रहेका पर्साको विश्रामपुर गाउँपालिका–९ का २० वर्षीय सहचालक स्वयंभुला अन्सारीको बायाँ हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

