काठमाडौं: बाढी आएको दुई साता बितिसक्दा रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम थपिन थालेको छ। बाढीले बगाएका खाद्यान्न, पशुचौपाया र अन्य फोहोर कुहिन थालेपछि दुर्गन्ध फैलिएको हो ।

प्रभावित बस्ती तथा होल्डिङ सेन्टरमा दूषित पानी, फोहोर र सरसफाइको अभावका कारण झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिसलगायत पानीजन्य रोग फैलिन सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। लामो समय जमेको पानीका कारण डेंगी र मलेरियाको जोखिमसमेत बढेको छ ।

नुवाकोटका होल्डिङ सेन्टरमा गरिएको पानी परीक्षणमा १५ वटै नमुना पिउन योग्य नभेटिएपछि पानी शुद्धीकरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीका अनुसार ज्वरो, खोकी, छालामा एलर्जी तथा फङ्गल संक्रमणका समस्या देखिन थालेका छन्। एउटै स्थानमा धेरै विस्थापितलाई राखिएकाले संक्रमण फैलिन सक्ने जोखिम अझ बढी रहेको बताइएको छ ।

सरकारले जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरी नियमित निगरानी गरिरहेको जनाएको छ। विशेषगरी बालबालिका, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्राथमिकता दिइएको छ ।

यसैबीच, रसुवामा हैजा फैलिन नदिन २१ हजार डोज हैजाविरुद्धको खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत रसुवा पुर्‍याइएको हो ।

खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले प्रभावित क्षेत्रमा सुरक्षित पानी, सरसफाइ र स्वास्थ्य सेवाको व्यवस्थापनलाई तत्काल प्राथमिकता दिनुपर्ने चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार