धादिङ: बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला–परेवाटार पुल बगाएपछि जिल्लाको यातायात प्रभावित बनेको छ। पुल भत्किएसँगै धादिङका ८ स्थानीय तह प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

चीन सरकारले नेपाललाई उपलब्ध गराइसकेको १०० मिटर लामो बेलीब्रिज तत्काल फुर्केखोला–परेवाटारमा जडान गर्नुपर्ने आवाज उठ्न थालेको छ। सम्बन्धित निकायले प्राथमिकताका साथ काम अघि बढाए दशैंअघि नै पुल सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको बताइएको छ ।

बाढी गएको लामो समय बितिसक्दा पनि पुल निर्माणको काम अघि नबढ्दा स्थानीयमा सरकारको कार्यक्षमताप्रति प्रश्न उठ्न थालेको छ। उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको आवागमन सहज बनाउन सरकारले तत्काल पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

यसअघि भारतमा बाढीपछि ३१ घण्टामै पुल निर्माण गरिएको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि उपलब्ध स्रोत र साधनको तत्काल उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

बाढी आएको ३१० घण्टा बितिसक्दा पनि फुर्केखोलामा पुल निर्माण हुन नसकेको भन्दै ढिलाइले सरकारसँग रहेको तत्काल काम गरेर देखाउने अवसरसमेत गुम्दै गएको टिप्पणी गरिएको छ ।

सम्बन्धित पक्षले अब थप ढिलाइ नगरी बेलीब्रिज जडानको काम अघि बढाए दशैंअघि नै प्रभावित नागरिकलाई सहज आवागमनको सुविधा दिन सकिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार