चितवन: पृथ्वी राजमार्गका विभिन्न ठाउँमा सडक भासिएर यातायात ठप्प भएपछि भरतपुर–काठमाडौं हवाई सेवामा यात्रुको चाप ह्वात्तै बढेको छ ।
सडकमार्गबाट काठमाडौं पुग्न समस्या भएपछि बुद्ध एयरले भरतपुरबाट हुने दैनिक उडान बढाएर ९ देखि ११ वटासम्म पुर्याएको छ। यसअघि सामान्य अवस्थामा दैनिक पाँच उडान मात्र हुने गरेका थिए ।
बुद्ध एयरका अनुसार यात्रुको माग बढेपछि आवश्यकताअनुसार उडान थपिएको हो। भरतपुर–काठमाडौं रुटमा एटीआर–७२ जहाज सञ्चालन हुँदै आएको छ ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक सडक रहे पनि वर्षाका कारण सडक यात्रा जोखिमपूर्ण बनेकाले यात्रु हवाई सेवातर्फ आकर्षित भएका छन् ।
चितवनसँगै नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट काठमाडौं जाने यात्रु पनि भरतपुर विमानस्थल हुँदै हवाई यात्रा गर्न थालेका छन् ।

