पवन प्रसाद साह
बिरगंज, भदौ २२ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा १७ वर्षदेखि सक्रिय रहँदै आएका जलेश्वर सर्राफले पार्टी परित्याग गरी डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको जय नेपाल पार्टी रोजेका छन् ।

राप्रपामा नगर अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका सर्राफले लामो राजनीतिक अनुभवसहित नयाँ दलमार्फत आफ्नो यात्रा अघि बढाउने बताएका छन्। उनले आफूले विगतमा विभिन्न राजनीतिक आन्दोलन तथा संघर्षमा सक्रिय सहभागिता जनाएको उल्लेख गर्दै अब जय नेपाल पार्टीको संगठन निर्माणमा केन्द्रित हुने बताए ।

जय नेपाल पार्टीले सर्राफलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिँदै पर्सा र रौतहट जिल्लाको संगठन निर्माणको जिम्मा दिएको जनाइएको छ। उक्त जिम्मेवारीअन्तर्गत दुवै जिल्लामा पार्टीको संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने सर्राफको तयारी छ ।

आफ्नो १७ वर्षको राजनीतिक अनुभवलाई नयाँ पार्टीको विस्तारमा प्रयोग गर्ने बताउँदै सर्राफले जय नेपाल पार्टीलाई बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

विशेषगरी मधेश आन्दोलनलगायत विभिन्न राजनीतिक गतिविधिमा आफ्नो सहभागिता रहेको उल्लेख गर्दै उनले नयाँ राजनीतिक शक्तिमार्फत जनताको अपेक्षा पूरा गर्ने प्रयास गरिने बताए ।

पार्टी अध्यक्ष डा. धवलशम्शेर राणाको राजनीतिक विचारप्रति समर्थन जनाउँदै सर्राफले राणा हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा स्पष्ट धारणा राख्ने नेता भएको बताए। वर्तमान गणतान्त्रिक व्यवस्थाप्रति अध्यक्ष राणाको असहमति रहेको पनि उनले दाबी गरे ।

देशको वर्तमान राजनीतिक अवस्थाबाट निकासका लागि वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताउँदै सर्राफले जय नेपाल पार्टीलाई देशव्यापी रूपमा स्थापित गर्न आफूले जिम्मेवारीपूर्वक काम गर्ने बताए। ।

सर्राफको प्रवेशसँगै पर्सा र रौतहटमा जय नेपाल पार्टीको संगठन विस्तार अभियान थप सक्रिय हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार