अजय मिश्रा
कपिलवस्तु, भदौ २२ गते ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा कपिलवस्तुको कृष्णनगरमा दीप प्रज्वलन सहित श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको आयोजनामा कृष्णनगरको लिंक गेटमा सोमबार साँझ कार्यक्रम गरिएको हो। कार्यक्रममा कृष्णनगर नगरपालिका–२ की कार्यवाहक वडाध्यक्ष रेनु शर्मालगायतले मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेका थिए। श्रद्धाञ्जली सभामा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूले बाढीमा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।
कार्यक्रममा कृष्णनगर नगरपालिका, इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल कृष्णनगरको सहकार्य रहेको थियो। होटल व्यवसायी संघ, यातायात व्यवसायी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो ।

