सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–११, मधुवन बुधबारेबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्रदेश १–०२–०५१ प ४८०१ नम्बरको मोटरसाइकललाई शंकास्पद रूपमा जाँच गर्दा बराहक्षेत्र नगरपालिका–२ का ४० वर्षीय कर्णबहादुर राई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार राईको साथबाट प्लास्टिकसहित २८ ग्राम ८८० मिलिग्राम र प्लास्टिक हटाउँदा २५ ग्राम ६३० मिलिग्राम तौल भएको ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको छ। उनको साथबाट एउटा सामसुङ मोबाइलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लौकही–प्रकाशपुर आसपासका ग्रामीण तथा सीमावर्ती सडक लागुऔषध ओसारपसारका लागि प्रयोग हुने गरेको आशंका भइरहेका बेला भएको यो पक्राउले उक्त क्षेत्रमा लागुऔषध कारोबारको सञ्जालप्रति थप प्रश्न उठाएको छ ।
पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। बरामद पदार्थ ब्राउन सुगर नै हो वा अन्य कुनै पदार्थ भन्ने विषय प्रयोगशाला परीक्षणपछि यकिन हुने प्रहरीले जनाएको छ ।
प्रहरीले राईको सम्भावित सम्पर्क, लागुऔषधको स्रोत तथा गन्तव्यबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।

