सर्लाही: सर्लाहीमा बालबालिका लागुऔषध, सुर्तीजन्य पदार्थ, मदिरालगायत कुलतको सिकार बन्दै गएको भन्दै सर्लाही जिल्ला बाल क्लब सञ्जालले यसको नियन्त्रणका लागि कडा कदम चाल्न माग गरेको छ ।
सञ्जालका अध्यक्ष वेदप्रकाश झाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र तथा प्रेस विज्ञप्ति बुझाउँदै १८ वर्षमुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ, मदिरा, प्रतिबन्धित औषधि तथा नशालु घोलक पदार्थ बिक्री–वितरण गर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।
जिल्लाका विभिन्न स्थानमा बालबालिकाले यस्ता पदार्थ सहजै प्राप्त गरिरहेको गुनासो बढ्दै गएको भन्दै सञ्जालले जिल्लाभर प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ। स्थानीय तह, प्रहरी प्रशासन तथा उद्योग वाणिज्य संघको समन्वयमा पसलहरूको नियमित अनुगमन गरी बालबालिकालाई नशालु पदार्थ बिक्री गर्ने व्यवसायीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
नेपालको संविधानको धारा ३९ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ लाई आधार बनाउँदै अध्यक्ष झाले बालबालिकालाई लागुऔषध तथा अन्य नशालु पदार्थबाट जोगाउनु राज्य र सम्बन्धित निकायको महत्वपूर्ण दायित्व रहेको बताए ।
ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा सञ्जालका अध्यक्ष वेदप्रकाश झासहित लभकुश कुमार यादवलगायतको सहभागिता रहेको थियो । टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र तथा प्रेस विज्ञप्ति बुझाएको हो ।

