काठमाडौं: बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गोल्छा परिवारले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
गोल्छा परिवारको परोपकारी संस्था श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्टले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
देशका विभिन्न क्षेत्रमा पछिल्लो समय आएको बाढी तथा पहिरोबाट ठूलो क्षति पुगेको भन्दै ट्रष्टले विपद्को कठिन घडीमा प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको जनाएको छ ।
ट्रष्टका अनुसार कोषमा जम्मा गरिएको रकम प्रभावितको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रयोग गरिनेछ।
विपद्बाट प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै ट्रष्टले आवश्यक परेको समयमा मानवीय सहयोगमार्फत राष्ट्र र नागरिकको साथमा रहने प्रतिबद्धता पनि जनाएको छ ।

