काठमाडौँ: प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादवले जेनजी आन्दोलनका क्रममा युवाहरूले उठाएका मुद्दा अझै सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले आफू पनि भदौ २३ गतेको आन्दोलनमा सहभागी रहेको उल्लेख गर्दै त्यस दिनको घटना सम्झँदा अहिले पनि मनमा पीडा हुने बताए ।

उनका अनुसार युवाहरू राज्यसत्तामा पहुँच वा राजनीतिक पदका लागि सडकमा उत्रिएका थिएनन्। सुशासन, राज्य सुधार र जवाफदेहिताको माग गर्दै सडकमा पुगेका युवाहरूले उल्टै लाठी र गोलीको सामना गर्नुपरेको उनले बताए ।

यादवले आन्दोलनका क्रममा ज्यान गुमाएका परिवार तथा घाइतेहरूसँग सरकारले गरेका प्रतिबद्धता तत्काल कार्यान्वयन गर्नुपर्ने बताए। साथै आन्दोलनमा सहभागी भएर जेलमा रहेका युवाहरूलाई रिहा गर्नसमेत उनले माग गरे ।

उनले जेनजी आन्दोलनले उठाएका सवाललाई जनताको मतले समेत अनुमोदन गरिसकेको दाबी गर्दै सरकारले युवाहरूको बलिदान र प्राप्त जनमतलाई बेवास्ता गर्न नहुने चेतावनी दिए ।

‘हामी कसैको भाग खोस्न सडकमा गएका थिएनौँ। हाम्रो माग सत्ता र कुर्सी थिएन, सुशासन र परिवर्तन थियो,’ यादवले भने । उनले भदौ २३ को घटनाले सत्ता स्थायी नभएको र जनताको आवाज भने इतिहासमा लामो समयसम्म जीवित रहने सन्देश दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार