गाैशाला: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बिहीबार प्रधानमन्त्री वालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको हो ।
पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुन नसकेको विषयमा सरकारमाथि दबाब बढिरहेका बेला मन्त्री यादवले राजीनामा दिनुभएको हो। ग्यासको अभाव र वितरण व्यवस्थापनलाई लिएर उहाँको कार्यसम्पादनमाथि समेत प्रश्न उठ्दै आएको थियो ।
बुधबार बसेको संसद्को उद्योग तथा वाणिज्य समितिको बैठकमा मन्त्री यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूमाथि कडा रूपमा प्रस्तुत हुनुपर्ने धारणा राख्नुभएको थियो। काठमाडौंमा ठूलो परिमाणमा ग्यास पठाइएको दाबी गरिए पनि उपभोक्ताले आवश्यक मात्रामा ग्यास पाउन नसकेको भन्दै उहाँले उद्योगीप्रति असन्तुष्टि जनाउनुभएको थियो ।
आपूर्ति व्यवस्थापनमा देखिएको समस्याबारे मन्त्री यादवले कर्मचारी प्रशासनका कारण आफूले अपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेको गुनासोसमेत गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादव गत चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुनुभएको थियो ।

